August 26, 2015

बहादुर नेपाली

यो मेरो पहिलो  व्यंग कविता हो, देशको बिग्रदो परिस्थितिले मेरो मन रोएको छ र  अरु धेरैको मन पनि रोएको छ। तर हामी यो स्थिति सम्म आइपुग्दा पनि के हामीले अब आत्म-समीक्षा गर्नेबेला भएन र ? आखिर मर्ने मार्ने किन त ? आफ्नो बहादुरी देखाउनलाई नै हो ? वास्तविक बहादुरी भनेको लडाई र झगडामा हुन्न शान्ति र सौहार्दतामा हुन्छ। वास्तविक धर्म भनेको आध्यात्मिकता हो, अरु सबै ब्यैयक्तिक आस्था मात्र हुन् , जीवन र जगतको पूर्ण ज्ञान आफुमा हुन्छ अनि फेरि  किन धर्मको नाम मा यत्रो रडाको। देश भनेको सबैको हुन्छ, धर्ती सबैको साझा सम्पति हो , यो हामी जन्मनु भन्दा धेरै अगाडी देखि थियो र हामी मरेर गए पछि पनि धेरै पछि सम्म रहिरहन्छ अनि फेरि यी कुरामा हामी आफु आफुले झगडा गर्नुमा कुनै तुक छैन। यदि भबिस्यको सन्ततिको चिन्ता छ भने देशलाई बिकासको बाटो तर्फ डोर्याउने काम गरौं सबैजना मिलेर, मिलेमतोमा काम गर्ने हो भने हामी हाम्रो सन्ततिको लागि उज्ज्वल भबिस्य निर्माण गर्न सक्छौं, यसमा कुनै संका छैन , कमिलाको हुल बाट पाठ सिकौं।  सोच्न सिकौं र हल्लै हल्लाको पछि नलागौं।  

मर्ने मार्ने दुवै बहादुर
अनि बहादुर नै बहादुरले भरिएको
मेरो देश नेपाल।

आज प्रहरी मारेर बहादुर
हिजो घैंटो फोरेर बहादुर
कोहि गॊलि ठोकेर बहादुर
कोहि भाला रोपेर बहादुर
जुध्ने जुधाउने अर्का बहादुर
अनि बहादुर साँढेहरुले भरिएको
मेरो देश नेपाल।

कोहि गाडी जलाएर बहादुर
कोहि  गालि फलाकेर बहादुर
कोहि जाती उचालेर बहादुर
कोहि सत्ता टिकाएर बहादुर
यहाँ नाच्ने नचाउने अर्का बहादुर
अनि बहादुर नर्तकिहरुले भरिएको
मेरो देश नेपाल।

कोहि गाई नचाएर बहादुर
कोहि गाई पचाएर बहादुर
कोहि धर्म सजाएर बहादुर
कोहि धर्म गुमाएर बहादुर
कोहि अफवाह फैलाएर बहादुर
कोहि दंगा मच्चाएर बहादुर
बहादुर नै बहादुरले भेरिएको मेरो देशमा
म पनि बहादुर तिमि पनि बहादुर।

कोहि चरी बोकेर बहादुर
कोहि घैंटो च्यापेर बहादुर
कोहि चरी मारेर बहादुर
कोहि घैंटो फोरेर बहादुर
कोहि नसा पिएर बहादुर
कोहि अनसन बसेर बहादुर
कोहि बच्चा मारेर बहादुर
कोहि ज्यान दिएर बहादुर
कोहि टाएर बालेर बहादुर
कोहि कर्फ्यु लाएर बहादुर।

तिमि छ भन्ने पनि बहादुर
तिमि आठ भन्ने पनि बहादुर
तिमि थारु भन्ने पनि बहादुर
तिमि दारु भन्ने पनि बहादुर।

जनजाति पनि बहादुर
बाहुनबादी पनि बहादुर
ती पहाडेहरू बहादुर
ती मधेशबादीहरु बहादुर
हामी बहादुर नेपालीको देशमा
आफ्नो आफ्नो बहादुरी प्रदर्शन भैरहन्छ
एउटा बहादुरले अर्को बहादुरलाई आक्रमण गरिरहन्छ।

हामी  लोभी-पापी बहादुर
हामी अल्छी ढोंगी बहादुर
हामी गफाडी नासमझ बहादुर
हामी नेपाली जन्मजात बहादुर।

कोहि स्वास्नी जलाउने बहादुर
कोहि बच्चा बलि दिने बहादुर
कोहि अपहरण गर्ने बहादुर
कोहि बलात्कार गर्ने बहादुर
लाखौं जनावरलाई एक साथ् निर्मम हत्या गर्ने
 हामी ममताहीन धार्मिक पाखण्ड बहादुर।

कोहि भ्रस्टाचार गरेर बहादुर
कोहि कारागार तोडेर बहादुर
कोहि भारतलाई सरापेर बहादुर
कोहि भारतलाई गुहारेर बहादुर
कोहि देशभक्तिको नाममा बहादुर
कोहि देशद्रोहको नाममा बहादुर
आखिर बहादुरीको बहाना धेरै छन्
हामी सबै एक प्रकारको पाखण्ड बहादुर।

अधिकार खोसेर बहादुर कोहि
अधिकार रोकेर बहादुर कोहि
डि भि पी आर बिरोधि एउटा बहादुर
डि भि पी आर मा मर्ने अर्का बहादुर
लिपुलेक भन्ने एउटा बहादुर
छुट्टो देश भन्ने अर्का बहादुर
यहाँ थरी थरी बहादुरी
अनि थरी थरी बहादुर
यिनै बहादुर नै बहादुरले भरिएको
मेरो देश नेपाल।

 
 

No comments:

Post a Comment