January 21, 2013

ठूलो कि असल

"ठूलो मान्छे हैन असल मान्छे बन "------- B .P . Koirala

यो  भनाइबाट मैंले  आफ्नो लेख सुरु गरें  किनकि  यो भनाइले  मेरो मन  अति नै छोयो | कान्तिपुरमा बिजय कुमार पाण्डे दाइको यस्तै सान्दर्भिक लेख पढ्ने मौका पाएँ , सारै  खुसी लाग्यो | मैले एकपटक बिबेचना गरें  फेरि पनि वास्तविक जिन्दगिको बारेमा ; हामी किन समाजमा छौ र हाम्रो सामाजिक कर्तब्य के हो ? यो प्रश्न सारै  मनन  योग्य लग्यो मलाई  | जीवनमा सबै व्यक्तिको आफ्नो आफ्नै चाहना  हुन्छ र आकांक्षा पनि,  सबैले आफ्नो एउटा धरातल बनाएको हुन्छ, जसमा उभिएर उसले आफ्नो सपना पुरा गर्ने नैतिक आधार खोज्दछ ; त्यो नैतिकताको सानो डोरीले हामीलाई कसिलोसंग बाँधेको छ | हामी त्यहि डोरीको आडमा समाजरुपी आडम्बरसंग बारम्बार सम्झौता गरिरहन्छौं, जीवनरुपी बहाबसंग बारम्बार जुझिरहन्छौँ | हामी कहिले देखावटी गर्न लालायीत हुन्छौं त कहिले आफुलाई हीन ठानेर मुख लुकाएर बस्न बाध्य हुन्छौं | यो सबै हाम्रो समाजको उपज हो, यो सबै मानिसको नैतिक र समाजिक धरातलको उपज हो |

 त्यसको बाबजुद हामी लडिरहन्छौं, जीवनसंग हरपल सम्झौता गर्छौं । हामी धेरै कुराको आशा गर्छौ, धेरै कुरा कल्पना गर्छौ, हामी धेरै सोच्छौं अनि धेरै सपना सजाएर जीवन जिउने प्रयत्न गर्छौं | यी सबैका बाबजुद हामी जीवन प्रयन्त संघर्षरत रहन्छौं, त्यो संघर्ष ठुलो मान्छे बन्ने कल्पनामा हुन्छ, त्यो संघर्ष अरुले आफुलाई त्यो ठुलो छ भनोस भन्ने धोकोमा हुन्छ | जे भए पनि जीवन आखिर संघर्ष नै संघर्षमा चलिरहंछ, घुमिरहन्छ ; एक पछि अर्को गर्दै निरन्तर जुझिरहनु पर्छ हामीले | त्यहि जुझाई र भोगाइ अनि त्यहि संघर्षको पाटो नै मानिसको जिन्दगीको एउटा बाटो रहेछ | मान्छेले आफुमा सधै असीमित चाहना राख्नु नराम्रो कुरा भने हैन तर आफ्नो चाहना र आकंछाले आफुलाई पोल्नु भएन अनि तेस्ले अरुलाई सताउनु पनि भएन | यहाँ ठुलो र असलको कुरा थियो, ठुलो को हो र असल मान्छे को हो, ठुलो देखिने कुरा हो असल अरुले अनुभव गर्ने कुरा हो | पैसा आडम्बर र रवाफ छ भने आजकल मान्छेले उसलाई ठुलो मान्छे भन्छन, अरुले चिन्ने र बाहिरी रुपमा चर्चामा आउने व्यक्ति ठुलो कहलाउछन यो समाजमा, हुन पनि हो जो व्यक्तिलाइ सबैले चिन्छन ऊ  नै ठुलो व्यक्ति हो तर सबैले उसलाई असल नमान्न सक्छन; असल व्यक्ति त्यो हो जसले अरुको भलो हुने काम गर्दछ, आफु मात्र नभएर समाज र अरुप्रति आफ्नो उत्तरदायित्व बोध गर्नु पनि सामाजिक प्राणीको एउटा ठुलो कर्तब्य हो | मलाई अहिले यी र यस्ता कुराको आभास हुदै छ |

ठुलो हुनुमा मेरो ब्यैयक्तिक स्वार्थ लुकेको छ भने असल हुनुमा म बिना स्वार्थ काम  गर्न सक्छु, म आफूभित्र अरुलाई समेट्न सक्छु, आफ्नो कारणले अरुलाई खुसि देख्न सक्छु, त्यो नै असल हुनुको एउटा नमुना हो | म समाज संग डराएर पनि हुन्न, म समाजसंग भागेर पनि हुन्न; म परिस्थिति र बिबसता संग आत्तिएर पनि हुन्न, जहाँ समस्या छन् त्यहाँ समाधान छन् तेसैले ती समस्याको समुचित समाधान खोजेर हल गर्नु पर्छ त्यो नै एउटा असल व्यक्ति को कर्तब्य हो | त्यो समस्याको समाधानले अरुलाई पनि सहयोग होस्, त्यो समस्याको  समाधानले ममा अरुले गर्ब गर्न सकुन अनि मात्र मा असल कहलाउछु | ठुलो हुनु र असल हुनु को भिन्नता बास्तबमा बुझ्नु पर्ने कुरा हो र त्यस अनुरुप समाज परिबर्तनका केहि कुरा सबैले गर्नु पर्छ, चाहे सानो नै किन नहोस, सबैले आफु संग संगै अरुको पनि भलो गर्ने हो भने समाज अबस्य पनि राम्रो बन्छ | 

No comments:

Post a Comment