October 27, 2013

म देश भनि भनि

म देश भनि भनि लडिरहे हरघडी
ममतामा मारिएका शबहरु वरिपरि
म पनि आत्मा बने देशको निम्ति
रास्ट्रहित र स्वाधिनताको निम्ति
आखिर मैले किन मारें ? म किन मरें ?
आखिर मैंले युद्ध किन लडें ?
मैंले सांकेतिक युद्ध लड्नु थियो नकि बारुदको युद्ध,
मैंले चेतनाको युद्ध लड्नु थियो नकि शारीरिक युद्ध
मेरो शत्रु व्यक्ति थिएनन्, मेरो शत्रु सामाजिक कुरीति थियो
आखिर मैंले व्यक्ति किन मारें ? मैंले चेतना किन छरिन ?
गल्ति मेरो थियो, मेरो युद्धको थियो
मेरो सोचाइको थियो, मेरो तरिकाको थियो
मैंले चेतना छर्नु पर्थ्यो, मैंले शान्ति रोज्नुपर्थ्यो
मैंले शिक्षा र समाज रोज्नु पर्थ्यो
मैंले युद्धको बाटो भन्दा फरक बाटो रोज्नु पर्थ्यो
म आत्मा बनेर छटपटाइरहें, युद्ध गरेकोमा थकथकाइरहें
आखिर मैंले किन मारें ? म किन मरें ?
मैंले माया गर्न सकिन, मैंले स्नेह छर्न सकिन
म देश भनि भनि युद्धमा होमिए
तर मैले देश रोइरहेको देख्न सकिन
तर मैंले देशको भावना बुझ्न सकिन
मैंले युद्धको आशय जान्न सकिन
म लडें, म मरें तर देशको ममता अजै छ
म पहल गरिरहेछु शान्ति छर्ने,
 म पहल गरिरहेछु ममता बाड्ने
म आत्मा बनेर देश हेरिरहेछु
म आत्मा बनेर देश बुझिरहेछु
युद्धमा देश रोएको छ, शान्तिमा देश हासेको छ
युद्धमा म पनि छटपटाएको छु, शान्तिमा हासेको छु
म हास्न खोजिरहेछु, म शान्ति खोजिरहेछु
म सामाजिक चेतनाको बिगुल फुक्न चाहन्छु
म शान्तिको आवहान गर्न चाहन्छु
म मरे पनि युद्ध निर्मुल पार्न चाहन्छु
म हास्न चाहन्छु, म देशलाई हसाउन चाहन्छु ||


No comments:

Post a Comment