May 06, 2012

हामी कहिले सम्म गरीब बस्ने ?

                                                                       
साथीहरुले भने नेपालको झन्डा 9gagमा छ, मलाई यो 9gag भनेको केहि राम्ररी थाहा पनि थिएन, ठुलै कुरो होला भनेर नाक फुलाइयो तर खासै त्यसरी नाकनै फुलाई हाल्नु पर्ने खबर केहि थिएन | त्यहाँ कयौ अरु वाहियात खबरहरु आउछन, कयौ वाहियात फोटोहरु आउछन अनि त्यो भन्दा पनि बढी वाहियात कमेन्टहरु |मैले सोचे के त्यस्तो एउटा नाथे websiteमा हाम्रो देसको झन्डा आउदा हामी त्यति गर्वित हुनुपर्ने बेला आइसकेको छ र? के हामी त्यति कमजोर भैसकेको हो? मनमनै सोच्दै थिए र त्यहाँ लेखिएका कमेन्टहरु पनि पढ्दै थिए | मेरो आखा एउटा कमेन्टमा पर्यो जसले नेपालको बारेमा केहि नराम्रो तर कटु कुरा लेखेको थियो | मन पोल्यो त्यो पढेर एकछिन मुर्मुरिए तर फेरि analysis गरे हुन पनि हो, केहि सत्य कुरा पनि छ त्यसमा, एकछिन लज्जित भए र केहिबेर फेरि सोचिरहे | उसले लेखेको थियो नेपाल भनेको दक्षिण एशियाको सोमालिया हो |

यो तितो यथार्थले मेरो मन छोयो | हो हुन पनि हो यस्तै थिति रहिरहने हो भने हामी सोमालिया बन्नबाट त्यति टाढा छैनौ | अब पनि सानातिना र झिना-मसिना कुराहरुमा अल्झेर बिकासमा बाधा पुर्याउने हो भने हामी सोमालिया भन्दा पनि तल खस्किन के बेर? प्रकृति हाम्रो देसको गहना हो तर त्यसको सहीरुपमा प्रयोग गरेसम्म त्यो गहना हुन्छे, जब प्रकृतिको जथाभावी प्रयोग र फडानी हुन्छ, त्यसपछि प्रकृतिले निम्त्याउने प्रलय भयाबह हुन्छ| नेपालमा भर्खरै आएको हिमपहिरो हाम्रो प्रकृति प्रतिको हेल्चेक्र्याइको एउटा उपजमात्र हो | यस्ता बिपत्तिले कयौ व्यक्तिको ज्यान लिनुका साथै कयौ अरुलाई घरबारबिहिन बनाइदिन्छ, यसरि गरिबी झन् बढ्छ |

हो यी र यस्तै कुराहरु हामीले सोच्नै पर्छ | हामी कति सजग र सचेत छौ भन्ने कुराले हाम्रो देसको विकास कुन तहसम्म पुग्छ भन्ने निर्क्यौल गर्छ | हुन त राजनीति र राजनेतालाई मात्र दोस दिनु समस्याको समाधान होइन, समस्या चलीआएको रीतिमा पनि छ, समस्या हामी जनताको मानसिक सोचाइमा पनि छ | म त सधै सोच्छु धेरै नेपाली जनता अल्छी पनि छौ, हामीलाई देखावटी बढी चाहिन्छ, हामीलाई अरुलाई रवाफ देखाउन नै भए पनि पैसा धेरै चाहिन्छ तर मेहनत गर्न गारो लाग्छ, त्यसैले त घुसखोरी बढेको छ नेपालमा | पैसा नहुदा नहुदै 45 लाख तिरेर भए पनि छोरा छोरीलाई doctor पढाउनु परेको छ कसैलाई किनभने छिमेकीको छोरो doctor छ अनि उसले धेरै प्रगति गरेको छ; हामी सधै किन अरुको देखासिकी गरछौ, आफैले नया सामाजिक अवास्यक्ताको कुरा किन पत्ता लगाउन सक्दैनौ, किनकि हाम्रो समाजको संरचना त्यसरी नै भयो अनि हामी त्यहि बिकसित भयौ | पल्लो घरको कृष्णले गाडी किन्यो भनेर मैले पनि गाडी नै किन्नुपर्छ भन्ने छैन, म कृष्ण हैन मेरो छुट्टै पहिचान छ भन्ने कुरा बुझेर मैले देसको आवस्यकता अनुसार खेति किसानी पनि गर्न सक्छु, मैले गरेको उत्पादन उसको गाडीमा राखेर बेच्न लानसकिन्छ ,यसरि समाजमा एक-अर्काको आवस्यकता पनि महसुस हुन्छ र विकास निर्माण पनि हुन्छ |

हामी मिलेमतोमा काम गर्दैनौ, हामी competition मा चलिरहेछौ, यो असाध्य नीच हुनुको एउटा लक्षण हो | देस गरीब छ तर कुनै एउटा बैंकको शेयर किन्ने मान्छेको भीड देख्दा अचम्म लाग्छ | "उसले school खोल्यो म पनि खोल्छु, उसको चलेको छ म किन नसक्ने? " "तेरो भन्दा राम्रो होटेल म खोल्छु "; सबै तिर competition नै competition छ | यस्तै उ र मलाई हेर्ने परिब्रिती हाम्रो समाजमा जबसम्म ब्याप्त हुन्छ, जबसम्म यसलाई कुल्चिएर हामी अगाडी बढ्न सक्दैनौ तबसम्म बेथितिले आखा गाडी रहन्छ, हामी पैसा पैसा भन्दै त्यसको पछाडी लागि रहन्छौ, आखिर पैसाले गर्ने केहि हैन, यो एउटा साधन हो साध्य होइन | नया नया सोच आयो भने त्यसको लागि साधन जुटाउने धेरै निस्कन्छन | हामीले त्यसैले मेहनत गर्ने बानी बसाल्नु पर्छ | मेहनत त्यस्तो होस् जुन मेहनतले देश र जनतालाई केहि फाइदा पुगोस र आफ्नो मनमा पनि सन्तोस होस् | सामाजिक आवस्यकता सार बुझ्न सक्नुपर्छ नत्र देस सधै भंखालोमा खस्ने खतरा छ | मैले बिकासको चरम सीमा पनि देखे र गरीबिको चरमता पनि त्यसैले देस किन धनी र किन गरीब हुन्छ भनेर केलाउन सक्ने केहि सामर्थ्य आएको छ ममा | हामीले आज प्रत्येक जनतालाई हाम्रो गरीबिको कारण सम्झाउनुपर्छ र विकासतर्फ अगाडी बढ्न अग्रसर गराउनुपर्छ, प्रत्येक जनताले विचारवान सोचहरुलाइ प्रोत्साहन दिनुपर्छ | आफुभन्दा माथि समाज, जनता, देश , विश्व र प्रकृति छन् - यी कुराको ख्याल प्रत्येक सजग व्यक्तिमा हुनुपर्छ |

मैले यो लेखमा इंगित गरेको कटु सत्यता त्यहि हो, हामी गरीबिको चरमसीमामा पुगिसकेको छौ, अब ती कुरा अरुले पनि देख्न  थालिसके, हामी संसारमा नांगिन थालिसकेको छौ , यो कहिलेसम्म चलछ अब, त्यसैले अब अरुले भन्यो भनेर रिसाउने हैन, केहि कामगरेर देखाउने बेलाआएको छ | हामीले आफु आफुमा competition त्यागेर सबै एक धिक्का हुनसक्नु पर्छ र मिलिजुली विकासतर्फ अग्रसर हुनुपर्छ | सहि कदम र सहि कार्यमा सबै जुटेमामात्र हामी देस विकासको परिकल्पना गर्नसक्छौ, तब त हामी south asia को सोमालिया होइन switzerland नै बन्न सक्छौ | हामी मिलेर अगाडी बढौ त्यसपछि त हामीलाई 9gag जस्तो website मा झन्डा देखेर नाक फुलाउनु पनि पर्दैन, कसैको कटु commentमा मुरमुरिनु पनि पर्दैन | थाहा छ चुनौती धेरै छन् हामीसामु तर हामीमा ताकत पनि छ स्रोत पनि छ केवल सहि सदुपयोग र कर्मशीलताको जरुरि छ | त्यसैले उठौ, जागौ केहि गरौ ||

(सोमालिया देसको नाम प्रयोग त्यो देसको गरीबीलाइ होच्याउने उदेस्यले या प्रयोजन सहित गरिएको होइन यो एउटा comment को आलोचना र टिप्पणीमात्र गरेको हु )


No comments:

Post a Comment